लन्डन, एप्रिल २ — गत केही दिन यता भारतबाट नेपाल आउन खोज्नै सैयौं आफ्नै नागरिकले नाका बन्द भई अलपत्र परेर हारगुहार गरिरहेको समाचारप्रति ईन्टरनेश्नल सोलिडारिटी फर नेपाल बेलायतको ध्यानाकर्षण भएकोछ। एउटा नागरिक आफ्नो देश फर्कन पाउने अधिकारलाई यसरी बलजफ्ती रोक्नु राज्यको गैरजिम्मवारीपन हो।

कोरोनाका कारण भारतमा काम गरी रहेका मजदुरहरू नेपाल फर्कन खोज्दा आउन पाएका छैनन्। अहिले करीब एक हजार नेपालीहरु नेपाल-भारत नाकामा थुनिएका छन्। ती मध्ये भारतको धार्चुला पारि महाकालीको गौशालामा तीन सय ८० जना, गलातीको फायर ब्रिगेडमा ३२ जना र बलुवाकोटको स्कुलमा ७० जनालाई क्वारेन्टाईनमा राखिएको बताईएको छ।
यसैगरी झण्डै ४०० को संख्यामा रहेका नेपालीहरू नौतनवास्थित नौतनवा इन्टर कलेजमा राखिएको भारतीय सुरक्षाकर्मीको भनाई छ। जहाँ राखिएको त्यहाँ पनि बसाईको प्रवन्ध ठीक नरहेको र भीडभाडले झनै महामारी बढ्ने देखेर बैतडीका लोकेन्द्र बोहोरा महाकाली नदी पौडेर आफ्नो देशको माटो टेक्नआइपुगे, तर प्रहरीले उनलाई पक्राउ गर्यो। पक्राउ पछि उनलाई एक जोडी कपडा समेत नलगाइ बजार डुलाएर हिडाइएको देख्दा एक नेपालीप्रति आफ्नै देशमा यस्तो व्यवहार राज्यको गैरजिम्मेवारपूर्ण क्रियाकलाप हो भन्ने हाम्रो ठहर छ ।
नेपालको संबिधानले सबै नागरिकलाइ देश निकाला विरुद्धको हक तथा भेदभाव विरुद्धको हक सुनिश्चित गरेको छ । कुनै पनि व्यक्ति आफ्नो घर फर्कन पाउनु उसको मानवअधिकार हो भने देशको अर्थतन्त्रमा योगदान पुर्याउने यिनै व्यक्तिहरूलाई अपमानजनक व्यवहार हुनु निन्दनीय छ।
नाकामा १० दिनकी सुत्केरी समेत रहेको बुझिन आएको छ। यस्तै भारतमा कतिपय पत्रपत्रिकाले नेपालले वेवास्ता गरे पनि भारतीय सरकारले खानबस्न दिएको भनि समाचार आईरहेका छन् भने उनीहरु खुला ठाउँमा राखेर खान खान दिइरहेका भिडियोहरु पनि आइरहेका छन्। कोरोनाका कारण यस्तो परिस्थिती उत्पन्न भए पनि आफ्ना नागरिकलाई देश आउन दिएर नेपालमा क्वारनटाईनमा राख्न यसै विज्ञप्ति मार्फत इन्सोफन युके अनुरोध गर्दछ।
Date: 02/04/2020
INTERNATIONAL SOLIDARITY FOR NEPAL
London, UK
www.insofn.org